gazalutsav

नयाँ सामग्री

Friday, February 5, 2021

आश गुरुङ, आसु श्रेष्ठ, इद्रिस सायल, इन्द्रकुमार श्रेष्ठ र इन्द्रकुमार विकल्पका गजल

February 05, 2021 0

               गजल

                                           – आश गुरुङ ‘प्रतीक’



जन्मेर चोखो माटोमा तिम्रै लागि मरेर आएँ

सकी नसकी बर्खे भेलमा मिदिम खोला तरेर आएँ


काँडा थियो बाटोभरि अनि काला फूल गुच्छा

सिमलरुपी बोटबाट विस्तारै विस्तारै झरेर आएँ 


आई थुन्यौ डर लाग्छ पर्खाल अनि पहाडहरु

वसन्तको पवन भै भित्रभित्र छरेर आएँ


नजाऊ भन्थ्यो भाग्यले नि रित्तो गाग्री भेट्थेें बरै

आगोमाथि घिउ आफैँ आज परेर आएँ


मानिंदैन अन्धविश्वास रुढीवादी समाजमा

ढुङ्गा रै’छ दायाँबायाँ पूजा मैले गरेर आएँ 

                                          भुजुङ,—५, लमजुङ

              गजल

                                           – आसु श्रेष्ठ

मेरो देशको हिमाल, पहाड, तराई आज फुटेको छ

नेपाली हुँ नेपाल भन्ने मन आज टुटेको छ


पुर्खाहरु दिनरात देश बनाउने काममा खटे

उनकै सन्तान घर भत्काउने धुनमा आज जुटेको छ


ठूलो—सानो जातिपाति, लिङ्ग, वर्गभेद हुँदा

मानवोचित समानताको साथ आज छुटेको छ


नयाँ नौलो नेपालको जग राख्न नपाउँदै 

विदेशीले नेपालीको दिमाग आज भुटेको छ


आपसमै लड्ने भिड्ने विनाशको खेल खेली 

हाम्रो मिल्ने चाहनालाई कसले आज लुटेको छ


कर्णाली र कोशीबीच गण्डकीलाई छुटाएर

पहाडे र मधिसे भै किन आज जुधेको छ 


हाम्रा सबै मनमुटाव सगोलमै मिलाउन 

समयले वार्तालापको शङ्ख आज फुकेको छ

                                               दुलेगौंडा, तनहुँ 


             गजल 

                                        – इद्रिस सायल

ठाडो–ठाडो शिरलाई सलाम गरूँ 

नझुक्ने ती वीरलाई सलाम गरूँ


भोक–प्यास मेटिंदो हो त यी जनकोे

पाकेको त्यो खिरलाई सलाम गरूँ 


पहाड यो दुखेपछि तराई दुखे

साझा त्यो यो पीरलाई सलाम गरूँ 


आँखाको वाण हान्दा माया बर्सँदा त

आत्मीय त्यै तीरलाई सलाम गरूँ 


लोकका सहिद श्रद्धाका दुई आँसु 

समर्पण नीरलाई सलाम गरूँ


वीरताको पाठ सिक्न पाओस् ‘सायल’

सगरमाथा भिरलाई सलाम गरूँ

                                        बाँके


       गजल 

                                 – इन्द्रकुमार श्रेष्ठ

सद्दे छु बौलाहा नभन्नुहोला

मलाई फटाहा नभन्नुहोला


कसैलाई सम्झी टोलाएको हुँ

नबोल्ने सन्काहा नभन्नुहोला


मायाले गर्दा तस्वीर नदेको 

यो कस्तो ठगाहा नभन्नुहोला


‘कोपिला’ देखी पग्लिएको हुँ

त्यत्तिकै पग्लाहा नभन्नुहोला


लुकेर हुर्की बढेको माया

कसलाई के थाहा  नभन्नुहोला

                           दियाले , कमलाकुञ्ज, ओखलढुङ्गा


           गजल 

                                       – इन्द्रकुमार विकल्प

जति पोले पनि मलाई लाग्छ घाम प्यारो

घाम मात्र किन हुन्थ्यो मलाई लाग्छ काम प्यारो


जिन्दगीको चलखेलमा पुग्नु पर्‍यो टाढा-टाढा

जति टाढा पुगे पनि मलाई लाग्छ गाम प्यारो


सधैं-सधैं सम्झी बस्छु गाउँघरका साथी संगी

साथी संगी मायालुको मलाई लाग्छ नाम प्यारो


तर किन तिमीलाई सधैं लाग्यो दाम प्यारो

जति दाम प्यारो मान मलाई लाग्छ राम प्यारो ।

                                                  पर्वत

पूरा पढ्नुहोस्

Friday, January 29, 2021

५ गजलकारका ५ गजल (शनिबारीय)

January 29, 2021 0
शनिबारीय      


                गजल 

                                      – अस्मिता भट्टराई 

 


जवरजस्ती आनन्दको सागर तर्न सक्दिन म 

उमङ्गको झरना बनी दिलमा झर्न सक्दिन म


चाँदनीझै श्रृङ्गार गरी इन्द्रेणीको रंग भरी

तिमीलाई हेर्दै लज्जाएर मुस्कार छर्न सक्दिन म


स्तब्ध यी नयन अनि भावशुन्य चेहराले

हृदयको संघारभित्र स्वागत गर्न सक्दिन म


भावना र कल्पनाको संगममात्र होइन जीवन 

तिम्रा रित्ता आकांक्षाका घडा भर्न सक्दिन म 

                      बन्दिपुर–७, तनहुँ


            गजल 

                                   – अशोक बोहरा ‘असीमपीडा’


जहर घोलेर घुट्को लगाउने मन लाग्छ किन 

माया प्रीति बसाएर भगाउने मन लाग्छ किन 


कस्तो अनौठो शक्ति छ प्रभु ! यो जञ्जाल प्रेममा

मृत त्यो लास पनि जगाउने मन लाग्छ किन 


यहाँ जिन्दगी नै दुई दिनको रामछाया हो भने

बञ्जड भूमिमा पसिना बगाउने मन लाग्छ किन 


निश्चल गगनमा चोखो आत्मा छ भने 

स्वर्गमा गई अमृत मगाउने मन लाग्छ किन 


सडक छेउछाउमा गल्लीहरुबीच फाँसी लगाई

मूर्ख ‘अशु’ आफ्नै देह टँगाउने मन लाग्छ किन 

                           टीकापुर – ९÷११, मालिकापथ, कैलाली 


          गजल

                                – आर. के. ‘अदिप्त’ गिरी

यो भीरको उता अर्को भीर छैन होला

लुकाएर राख्नेको मन थीर छैन होला


बेथितिले जताततै खजमजिएको ठाउँ छ 

असार रोप्ने गरीबको मङ्सिर छैन होला


मनकै ईश्वरसँग पनि आपत्ती र विपत्ती छन्

दुख्नु खपिनसक्नुको त्यो पीर छैन होला


माछोभित्र माछोकाल छट्पट् भइरहेछ कतै

बाँच्नलाई उँचो शिर तकदीर छैन होला


अन्धो यो समाजको बैरङ्ग कैले पोल्ने हामी

फर्काउने अन्धोेपना कुनैै नजीर छैन होला 

                                            शब्दघर, पर्वत


         गजल

                               – आमोद

घरसमीपको पाखामा डाक्यौ

आऊ प्यारा भनी काखामा डाक्यौ


केही बेरमै हाल्दै सुसेली

आहा ! क्या मिठो  भाकामा डाक्यौ


बनेर रानु कजाइ हजार 

मधु–घडाका ती चाकामा डाक्यौ 


उतारी फेरि नक्सा जीवनको

भन्सार नजाने नाकामा डाक्यौ 

                                 ढिकुरपोखरी, कास्की


                गजल 

                                              – आर.बी. ‘फ्लेम’

सेतो कागज भन्थ्यौ तिमी, चरित्रमा दाग लाग्यो

साथीसंगी जस्ता थिए, उस्तै तिम्रो भाग लाग्यो


‘साधुहरु’ जमात आए तर ‘ऋषि’ भेटिएनन्

फुल चोर्ने कोइली थियो, हेर्दा ठ्याक्कै काग लाग्यो

 

दूध ख्वाएर पाले पनि सर्पले त डस्छ भोलि

चिनेनौ कि त्यही सर्प, तिमीलाई नाग लाग्यो                            


‘सहरबाट जाडो भाग्यो’ फर्जी कुरा पत्याएछौ

आऊ मिली आगो फुकौंं फेरि अर्काे माघ लाग्यो 

                                                        पोखरा

गजल उत्सव-१ (२०६४) बाट साभार


पूरा पढ्नुहोस्

Saturday, January 16, 2021

५ गजलकारका ५ गजल-२

January 16, 2021 0

           
             गजल

                                 – अप्सरा ‘स्मृति’ 

जताजता  पुतली उतै फुल्छन् पापीहरु

आएपछि घुम्ती वचन भुल्छन् पापीहरु


नदेखेरै फूल फक्रेको आफ्नै हृदयबीच

हाँगा पात डालीमा डुल्छन् पापीहरु


मुटुभित्र औंसी राखी मन चोर्ने दाउमा

पूर्णिमाको चोटझैं खुल्छन् पापीहरु


बिर्सिएर सागरझैं आँखा प्रशान्त

खोली खोल्सा डोबैबीच घुल्छन् पापीहरु


घुम्तिपिच्छे रुप फेर्ने कलाका पुजारी

माटैपिच्छे लहलह झुल्छन् पापीहरु

                                   लमजुङ

  

                  गजल

                                            – अल्पज्ञानी

अलिकति मेरो आकास तिम्रो आकास अलिकति 

यौटै बाटो यौटै धर्ती चिसो बतास अलिकति 


उस्तै हामी फूलजस्तै फक्रिएका बागभरि 

सङ्गीतप्रेम लहरिएको र आभाष अलिकति 


कैले गीत चखेवाको झर्ना झङ्कार कहिले 

शुरुवात यो जिन्दगीको ग¥यौं खास अलिकति


ऋतु फेरिन्छन् उस्तै हामी बाँच्यांै उज्यालैउज्यालो

जून, तारा, जुनकिरीको त्यै सुवास अलिकति


आफैभित्र हराउँदा लजाउँदा रमाउँदा

के साटियो, बाटियो के र मिसमास अलिकति

                                           पोखरा-३१, कास्की


            गजल

                             – अर्जुन पौडेल ‘निर्जन’

मन पर्ने फूल थियो झरेर गयो

अब कैल्यै नफर्कने गरेर गयो 


हरदिन बिहानीमा मुस्कुराउँथ्यो ऊ

आँधी आयो भुमरीमा परेर गयो 


सँगै मर्ने सँगै बाँच्ने रहर थियो 

आफूमात्र एक्लै नदी तरेर गयो 


काँडामाझ भए पनि मन बुझाउँथें

कहाँ देख्नु दूरदेश सरेर गयो 


सम्झनाले सजिएर जिउँदैछु म

उसँगै  मायाको बोट मरेर गयो 

                              कुश्मा, पर्वत


             गजल

                                          – अविनाश गौतम

बोल्न पनि छाड्यौ किन नबोल भन्या’छ कि

कुरिबसें आउँछ्यौ भनी बाटो अन्तै खन्या’छ कि 


साँझपख देउरालीमा भेट्न आउँछु भन्थ्यौ

अरु कसैले तिमी आउने दिन गन्या’छ कि


सधैंभरि आउँछु भनी किन मलाई ढाँट्छ्यौ

उसलाई छोड्नै नसक्ने पो बानी बन्या’छ कि

                                                 पोखरा


              गजल

                                              – अविनाश दहित 

आऊ न मिली सुस्ताऔं चौतारी छ ए वसन्त

तिम्रा भावना छरिदेऊ करेसाबारी छ ए वसन्त


कताकता हाँस्छु म त होइन यो द्विविधा मेरो

रोेज्न सक्छौ जाई, जुही हजारी छ ए  वसन्त


छ यो मन कोमल त्योे मन पनि कोमल त हो

यता पनि हो सुखदुःख बराबरी छ ए वसन्त


खोज्छौ होला  तीतामीठा बह पोख्ने विधाहरु

विधिको विधान नगर्नू लुकामारी छ ए वसन्त 

                                 रतनपुर, भूईयाँफाँटा, कैलाली


                                           गजल उत्सव-१, २०६४ बाट साभार


पूरा पढ्नुहोस्

Sunday, January 10, 2021

पोखराबाट हालसम्म प्रकाशित गजल सङ्ग्रहहरुः-

January 10, 2021 0

१) ज्वालाका रापहरु- आर.बी. 'फ्लेम' (२०५४)

२) गुम्सिएका भावहरु- माधव वियोगी
३) मनको मूर्च्छना- लक्ष्मण थापा
४) अनुराग- अनुराग अधिकारी
५) गजेको भोटो- कमल पोडेल 'अथक'
६) भूगोलभित्र नकोरिएको देश- दीपक समीप
७) नयनतालैमा- कृष्ण उदासी
८) गजलगाथा- गुन पुन 'गुञ्जन'
९) साइबर क्याफेमा एक दिन- सरुभक्त
१०) झुल्केघाम- नितेशराज रेग्मी
११) प्रणयवेदका ऋचाहरु- प्रकट पगेनी 'शिव'
१२) छन्दबहरका शब्दलहर- छन्दमणि
१३) जनयुध्द जारी छ- मन क्षेत्री
१४) नदेखिने यौटा दृश्य- विवेक
१५) पलापला- लक्ष्मण थापा
१६) अनुहार तिम्रै- छन्दिका
१७) प्रेमको मधुमास- कमल पौडेल 'अथक'
१८) मनका तरङ्गहरु- शिवराज रेग्मी
१९) हृदयको आलाप- ईश्वरमणि अधिकारी
२०) बाटो छेक्छन् जूनताराले- पार्वती पाहारी 'तूफान'
२१) छरिएको मन- सोम थापा
२२) ...र अप्रत्यासित- देवी त्रिपाठी (२०६७)
२३) कस्तो हो यो- सङ्गीता बराल 'प्रतीक्षा'
२४) नजरभरिको सपना- शरण आँसु
२५) विरहीका भाकाहरु- रुद्र श्रीष
२६) एके 47- मुक्तक/गजल- युवराज भण्डारी
२७) अक्षर बिउँझिएको समय- प्रकाश ज्ञवाली
२८) जलेको आत्मा- प्रमोद घिमिरे 'दर्शन' र गोविन्द अधिकारी 'एकलयात्री'
२९) शीतको रहर- छवि 'शीत' राई
३०) स्पात शान्तियात्रा- मोहन स्पात
३१) पहिलो पाइला -अशोक नेपाली
३२) मनको आकाश- दुर्गा न्यौपाने (२०६९असोज)
३३) पोल्यो शीतले झन्- आवाज शर्मा (२०६९ कार्तिक २७)
३४) पलाँस- आवाज शर्मा (२०७० भदौ)
३५) दुई ध्रुव- रवीन्द्र अधिकारी ‘गोर्जेली कान्छो’ (२०७०)
३६) नीलो आकाश- सन्तोष सुवेदी (२०७० साउन)
३७) परीका कथा- आवाज शर्मा (२०६७ मङ्सिर)
३८) खाडीको सुन- आर. सी. अधिकारी (२०७२ फागुन ८ गते) https://rupindra.blogspot.com/2020/04/blog-post_76.html
३९) अथाहसागर तीर्थमान- नदी जस्तो जिन्दगी (२०७२ चैत १३ गते) https://rupindra.blogspot.com/2020/04/blog-post_20.html
४०) तस्बिरमा दोसल्ला- कपिल शर्मा (२०७३ वैशाख ११ गते)

४१) कलियुग- श्रीकृष्ण पौडेल (२०७३)
४२) मनको शल्यक्रिया- विपिन मर्म (२०७४ वैशाख १६)
४३) घाम डुब्नुअघि- दिलिप दोषी (२०७४ वैशाख २३)
४४) लभ स्टेशन- देशभक्तसिंह कुँवर (२०७४ मङ्सिर १६)
४५) मेरो मनको भावनाहरु- वसन्त अधिकारी ‘विवश’ (२०७४ माघ ८) (गजल र मुक्तकको कृति भनिए पनि संरचना नमिलेका छन्)

४६) मनको दीयो- मनु शर्मा (२०७६)


(कुनै कृति छुटेको भए कृपया जानकारी दिनुहोला ।)


























पूरा पढ्नुहोस्

५ गजलकारका ५ गजल

January 10, 2021 0


   
गजल

            अणुबम नेपाली

रिसाएर गए पनि फर्किएर आएँ

कतै हैन तिमीतिरै सर्किएर आएँ

 

धरतीको फाँट तिमी म भने बादल

वर्षात्को झरी बनी दर्किएर आएँ

 

आफ्ना गीत सुनाउँदै गीत माग्नेसित

झर्को बोली गाना गोली तर्किएर आएँ

 

होली थियो चारैतिर रङ्ग खेल्ने दिन

रङ्गाउन तिमीलाई छर्किएर आएँ

 

पाउँदा तिमीलाई यस्तो खुसीयालीमा

तिमीसँग  गाएँ नाचेँ मर्किएर आएँ

 

सम्हाल्नै सकिएन छताछुल्ल भएँ

तिम्रो माया पाउनलाई लर्किएर आएँ

 

तिमीबाट टाढिएर होश खुल्यो बल्ल

पश्चातापको आगोले चर्किएर आएँ

 

मेरो मनको मनले दियो चेतावनी

र त तिम्रो शरणमा थर्किएर आएँ

 

कति आँसु बगाएँ तिम्रो यादमा मैले

दैवलाई थाहा होला धर्किएर आएँ

 

त्यहाँदेखि यहाँ केके भोगे ‘नेपाली’ले

बाटो रोक्ने पछि परे झर्किएर आएँ

                सोनपुर–९, बाँके

 

       गजल

            – ‘अथाहसागर’ तीर्थमान

सत्य बक्न छाडिहाले धोका भए मान्छेहरु

पड्काइएको गोलीको खोका भए मान्छेहरु

 

पवित्रता भन्ने छैन दिनहुँको पाप कर्म

नरकयात्रा स्वागतम्का ढोका भए मान्छेहरु

 

काँधमा काँध मिलाएर छाडे हिँड्न सबैजना

उपयोगिता सकिएको डोका भए मान्छेहरु

 

दिनहुँको लडाइँ झगडा सधैंको काटमार

रगतले गनाएको पोका भए मान्छेहरु

 

विष्णु, राम, कृष्ण, बुद्ध जन्मने कहिले फेरि

क्षणभङ्गुर पानीका फोका भए मान्छेहरु

                       मनपाङ, तनहुँ


       गजल

                     अदिती शर्मा

अनायासै समयले छल्यो शुन्यतामा               

निभ्यो दियो आस्थाको घर ढल्यो शुन्यतामा

 

घोर अन्धकार अन्धाधुन्ध बढ्दै–बढ्दै थियो

अँधेरीलाई च्याती चिराग बल्यो शुन्यतामा

 

सञ्जीवनी सारेथें अमृतको फल

आई फेरि कस्ले विष दल्यो शुन्यतामा

 

गन्तव्यको बाटो भुलें छलिएर कता

पाइला अब सुस्तसुस्त चल्यो शुन्यतामा

 

थाहा छैन कहाँ पुगी टुङ्गिने छ यात्रा

चितामाथि परी देह जल्यो शुन्यतामा

                                        पोखरा


        गजल

                            अनिल शर्मा सुवेदी

मलाई मन पराउनेले माया टेण्डर हाले हुन्छ

नफुस्किने मायाको जाल अब छिट्टै फाले हुन्छ

 

एक्लो जीवन बिताउन तिम्लाई गाह्रो भयो भने

मलाई पाउन मेरो पछि पाइला आजै चाले हुन्छ

 

उज्यालोमा जिउन खोज्दा अन्धकार नै छाउँछ भने

कैल्यै पनि ननिभ्ने त्यो प्यारको दियो बाले हुन्छ

 

ऐना हेर्दा आफैसँग तिम्लाई लाज लाग्छ भने

लाजको त्यो दिवारलाई अब तिम्ले ढाले हुन्छ

 

माया प्रेमको गहिराइमा अझै डुब्ने इच्छा भए

एक जोडी ढुकुरलाई अब तिम्ले पाले हुन्छ

 

चुरापोते सिन्दुर लगाई हात समाई हिंड्ने भए

ओठ टोकी मेरो सामु मुस्कुराउन थाले हुन्छ

                         पोखरा–७, मासबार

            

        गजल

                               अनुराग अधिकारी

मुटुभित्र लुकाइराख्छु सुटुक्क आउनू है

पिरतीका सुन्दर गजल मसँगै गाउनू है

 

आँखाभरि एक-अर्कालाई हेरेर हाँसीहाँसी

मायालु स्पर्श दिन मेरो सहर धाउनू है

 

आउने बाटोमा मुस्कानका फूल छरिदिऊँला

मेरा यी नयनमा सधैं हजुर छाउनू है

 

सम्झनाले सताउँदा आकास हेर्दै टोलाउँछु

नीलो त्यो सगरमा जून बनी उदाउनू है

 

हजुरको नाम जपेर दिन काटी बसेकी छु

अजम्बरी माया केवल मसँग लाउनू है

                                  पोखरा

साभारः गजल उत्सव-१, २०६४

पूरा पढ्नुहोस्