
गजल
– अप्सरा ‘स्मृति’
जताजता पुतली उतै फुल्छन् पापीहरु
आएपछि घुम्ती वचन भुल्छन् पापीहरु
नदेखेरै फूल फक्रेको आफ्नै हृदयबीच
हाँगा पात डालीमा डुल्छन् पापीहरु
मुटुभित्र औंसी राखी मन चोर्ने दाउमा
पूर्णिमाको चोटझैं खुल्छन् पापीहरु
बिर्सिएर सागरझैं आँखा प्रशान्त
खोली खोल्सा डोबैबीच घुल्छन् पापीहरु
घुम्तिपिच्छे रुप फेर्ने कलाका पुजारी
माटैपिच्छे लहलह झुल्छन् पापीहरु
लमजुङ
गजल
– अल्पज्ञानी
अलिकति मेरो आकास तिम्रो आकास अलिकति
यौटै बाटो यौटै धर्ती चिसो बतास अलिकति
उस्तै हामी फूलजस्तै फक्रिएका बागभरि
सङ्गीतप्रेम लहरिएको र आभाष अलिकति
कैले गीत चखेवाको झर्ना झङ्कार कहिले
शुरुवात यो जिन्दगीको ग¥यौं खास अलिकति
ऋतु फेरिन्छन् उस्तै हामी बाँच्यांै उज्यालैउज्यालो
जून, तारा, जुनकिरीको त्यै सुवास अलिकति
आफैभित्र हराउँदा लजाउँदा रमाउँदा
के साटियो, बाटियो के र मिसमास अलिकति
पोखरा-३१, कास्की
गजल
– अर्जुन पौडेल ‘निर्जन’
मन पर्ने फूल थियो झरेर गयो
अब कैल्यै नफर्कने गरेर गयो
हरदिन बिहानीमा मुस्कुराउँथ्यो ऊ
आँधी आयो भुमरीमा परेर गयो
सँगै मर्ने सँगै बाँच्ने रहर थियो
आफूमात्र एक्लै नदी तरेर गयो
काँडामाझ भए पनि मन बुझाउँथें
कहाँ देख्नु दूरदेश सरेर गयो
सम्झनाले सजिएर जिउँदैछु म
उसँगै मायाको बोट मरेर गयो
कुश्मा, पर्वत
गजल
– अविनाश गौतम
बोल्न पनि छाड्यौ किन नबोल भन्या’छ कि
कुरिबसें आउँछ्यौ भनी बाटो अन्तै खन्या’छ कि
साँझपख देउरालीमा भेट्न आउँछु भन्थ्यौ
अरु कसैले तिमी आउने दिन गन्या’छ कि
सधैंभरि आउँछु भनी किन मलाई ढाँट्छ्यौ
उसलाई छोड्नै नसक्ने पो बानी बन्या’छ कि
पोखरा
गजल
– अविनाश दहित
आऊ न मिली सुस्ताऔं चौतारी छ ए वसन्त
तिम्रा भावना छरिदेऊ करेसाबारी छ ए वसन्त
कताकता हाँस्छु म त होइन यो द्विविधा मेरो
रोेज्न सक्छौ जाई, जुही हजारी छ ए वसन्त
छ यो मन कोमल त्योे मन पनि कोमल त हो
यता पनि हो सुखदुःख बराबरी छ ए वसन्त
खोज्छौ होला तीतामीठा बह पोख्ने विधाहरु
विधिको विधान नगर्नू लुकामारी छ ए वसन्त
रतनपुर, भूईयाँफाँटा, कैलाली
गजल उत्सव-१, २०६४ बाट साभार
No comments:
Post a Comment