सैद्धान्तिक आलेख
गजलका बहर र पिङ्गल छन्दको तुलना
– डा. घनश्याम न्यौपाने 'परिश्रमी'
स्वतन्त्र बहरहरूमा गायनहेतु उच्चार्य अक्षर वा मात्रात्मक एकरूपता तथा गति र यतिको सन्तुलन हुनु आवश्यक हुन्छ । आजका अधिकांश नेपाली गजलकारहरूले बहर, मात्रा र अक्षरको समेत सन्तुलन विना नै गजल रच्ने गरेको पाइन्छ । यस्तो हुनु गजलका लागि दुःखद पक्ष हो ।
यथा - |
पिङ्गल छन्द बहर |
१.भुजङ्गप्रयात बहरे मुतकारिब मुसम्मन सालिम |
२.शङ्खनारी/सोमराजी बहरे मुतकारिब मुरब्बा सालिम |
३.भुजङ्गी बहरे
मुतकारिब मुसम्मन मजहुफ |
४.इन्द्रवज्रा बहरे मुतकारिब अस्लम मकबुज |
५.स्रग्विणी बहरे
मुतदारिक मुसम्मन सालिम |
६.विद्युन्माला बहरे मुतदारिक मुसम्मन मक्तुअ |
७.महालक्ष्मी बहरे मुतदारिक मुसद्दस सालिम |
८.प्रमदानन बहरे कामिल मुसम्मन सालिम |
९.संयुता बहरे कामिल
मुरब्बा सालिम |
१०.विमोहा बहरे मुतदारिक मुरब्बा सालिम |
११.ताटङ्क बहरे मुतदारिक मकतुअ महजुफ |
१२. चन्द्र बहरे
मुतदारिक मुसम्मन महजुफ |
१३. द्रुता बहरे
मुतदारिक मुजाहिफ |
१४.दिक्पाल बहरे मुजारे मुसम्मन अखरब |
१५.पञ्चचामर बहरे रजज मुसम्मन मकबुज |
१६. मधुमालती बहरे रजज मुरब्बा सालिम |
१७.हरिगीतिका बहरे रजज मुसम्मन सालिम |
१८.रूपमाला बहरे रमल मक्तुअ महजुफ |
१९.मेनका/गीतिका बहरे रमल मुसम्मन महजुफ |
२०.माधवमालती बहरे
रमल मुसम्मन सालिम |
२१. मनोरम बहरे रमल मुरब्बा सालिम |
२२. पीयूषराशि बहरे रमल मुसद्दस मकफूफ |
२३. मालिका बहरे रमल मुरब्बा बहजुफ |
२४. विजात बहरे हजज मुरब्बा सालिम |
२५.चामर/तूणक बहरे हजज अस्तर मकबुज |
२६.सुमेरु बहरे हजज
मुसद्दस महजुफ |
२७.विधाता बहरे हजज मुसम्मन सालिम |
२८.तोटक बहरे हजज अखरव
अवतर मुसद्दत |
२९. सिन्धु बहरे हजज
मुसद्दस सालिम |
३०. दिगम्बरी बहरे हजज मुसम्मन महजुफ |
३१. पीयूषवर्ष बहरे हजज मुसद्दस महजुफ |
३२.प्रमाणिका बहरे हजज मुरब्बा मकबुज |
खोज्दै
जाँदा पिङ्गल छन्द र गजलका बहरहरूमा अरू
पनि धेरै समता पाउन सकिन्छ ।
शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न,
अर्कानहरूको ज्ञानका साथै बहरहरूको समेत यथेष्ट जानकारी हुनु आवश्यक छ । यहाँ
यसै कुरालाई ध्यानमा राखेर रुक्न, अर्कान र बहरहरूको चर्चा गर्ने प्रयास भएको छ ।
अ)
रुक्न :
रुक्न गणको पर्यायवाची शब्द हो । यसको
शब्दकोशीय अर्थ खम्बा हुन्छ । संस्कृत परम्परामा पिङ्गल छन्दका लागि भ (SII), ज (ISI), स (IIS), य (ISS), र (SIS), त (SSI), म (SSS), भ (III) जस्ता आठवटा गण
छन् । यी गणहरूलाई निम्न लिखित तालिकाबाट स्पष्ट पार्न सकिन्छ ।
गण तालिका
गण गणसङ्केत मात्रा उदाहरण
भगण SII २११ – गुलल केशव
जगण ISI १२१– लगुल किताब
सगण IIS ११२–ललगु नगरी
यगण ISS १२२– लगुगु किनारा
रगण SIS २१२–गुलगु माधवी
तगण SSI २२१–गुगुल बेताल
मगण SSS २२२–गुगुगु वैदेही
नगण III १११–ललल कमल
छन्दशास्त्रमा ह्रस्वलाई लघु र दीर्घलाई
गुरु भनिन्छ । माथि मात्रा सङ्केतमा ‘ल’ ले लघु वा ह्रस्वलाई र ‘गु’ ले गुरु
अर्थात् दीर्घलाई बुझाएका छन् । यही नियम रुक्नहरूमा पनि लागु हुन्छ । संस्कृतमा
गणले छन्द निर्माणमा जसरी भूमिका खेल्दछन् त्यसरी नै रुक्नले बहर निर्माणमा भूमिका
खेल्दछन् । बहरका रुक्नहरू निम्नअनुसार छन् । यथा :
रुक्न सङ्केत मात्रा शब्द (उदाहरण)
१. मफाईलुन् (ISSS) १,२,२,२ (ल.गु.गु.गु) यता हेर्यो
२. मुस्तफ्इलुन् (SSIS) २,२,१,२ (गु.गु.ल.गु) के के भयो
३. फाइलातुन् (SISS) २,१,२,२ (गु.ल.गु.गु) आज मेरो
४. फऊलुन् (ISS) १,२,२, (ल.गु.गु) उज्यालो
५. फाइलुन् (SIS) २,१,२ (गु.ल.गु) जिन्दगी
६.मुतफाइलुन् (IISIS) १,१,२,१,२ (ल.ल.गु.ल.गु) कसरी तिमी
७. मुफाइलतुन् (ISIIS) १,२,१,१,२ (ल.गु.ल.ल.गु) सुनाइरहेँ
८. मफ्ऊलातु (SSSI) २,२,२,१ (गु.गु.गु.ल.) कालो रात
यी रुक्नहरूमध्ये फऊलुन् र फाइलुन् तीन
अक्षर र पाँच मात्राका छन् भने अरू सबै सात मात्राका छन् ।
आ)
अर्कान :
रुक्नहरूको मेललाई अर्कान भनिन्छ । यिनै
अर्कानहरूको संयोजनबाट बहरहरूको निर्माण हुन्छ । फारसी उर्दू इल्मे अरूज
(वृत्तशास्त्र)ले गजल संरचनार्थ अनेकौं बहरहरू निर्दिष्ट गरेको छ । झन्डै पचासवटा
बहर गजल निर्माणका लागि तोकिएका छन् । गजलका सबै बहरहरूलाई मुख्यतः तीन किसिमले
वर्गीकरण गरिएको छ ।
१. मुफरद बहर (मूल छन्द)
२. मुरक्कब बहर (मिश्रित छन्द)
३. मुजाहिफ बहर (परिवर्तित छन्द)
मुफरद
बहर :
एउटै रुक्नको आवृत्तिबाट बन्ने बहरलाई
मुफरद बहर भनिन्छ । यसअन्तर्गत हजज, रजज, रमल, मुतकारिब, मुतदारिक, कामिल, वाफिर, नामक सातवटा
बहरहरू पर्दछन् । यिनका पनि निम्नलिखित तीनतीनवटा भेद छन् –
१) मुसम्मन सालिम– एउटा मिसरा एउटै
रुक्नका चार अर्कानबाट बनेको छ भने त्यसलाई मुसम्मन सालिम भनिन्छ ।
२) मुसद्दस सालिम– एउटा मिसरा एउटै रुक्नका तीन अर्कानबाट बनेको छ
भने त्यसलाई मुसद्दस सालिम भनिन्छ ।
३) मुरब्बा सालिम– एउटा मिसरा एउटै
रुक्नका दुई अर्कानबाट बनेको छ भने त्यसलाई मुरब्बा सालिम भनिन्छ ।
यसरी मुफरद बहरका मुख्य सात र तिनका
भेदहरूसहित एक्काइस प्रकार छन् । यहाँ यी बहरहरू र यिनीसँग हुबहु मिल्ने संस्कृतका
पिङ्गल छन्दहरू प्रस्तुत छन् । जस्तै –
१.क) बहरे हजज मुसम्मन सालिम- मफाईलुन् (ISSSx4) (पिङ्गल छन्द-विधाता)
ISSS ISSS ISSS ISSS
यता हेर्यो यतै मेरा / नजरमा रा/म प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा
राम प्यारा छन्
-
मोतीराम भट्ट
छ भित्री चाहना
अर्कै यहाँ अर्कै बहाना छन्
नयाँका मात्र
संज्ञा छन् यहाँ जे छन् पुराना छन्
- गोविन्दराज विनोदी
ख) बहरे हजज मुरब्बा सालिम- मफाईलुन् (ISSSx2) (पिङ्गल छन्द-विजात)
ISSS ISSS
कतै टाढा/नजाऊ है
मनैमा यो थुनेको छु
– सरोज काफ्ले (अधरामृत)
२.क) बहरे रजज मुसम्मन सालिम मुस्तफ्इलुन् (SSIS x 4) (पिङ्गल छन्द-हरिगीतिका)
SSIS SSIS SSIS SSIS
चल्दैन पा/नी भन्दछौ/
यो के कुरा/ हो जान्दिनँ
जाती र पाती व्यर्थको
संस्कार मैले मान्दिनँ
– सरोज काफ्ले (अधरामृत)
३.क) बहरे रमल मुसम्मन सालिम - फाइलातुन् (SISS x 4) पिंगल छन्द–माधवमालती)
SISS SISS SISS SISS
भावनाको /मूल्य के हो /बुझ्न खोज्छन्/
दुष्ट मान्छे
कल्पनाको अर्थ के हो जान्न खोज्छन् रुष्ट
मान्छे
– डा. घनश्याम परिश्रमी
याद आयो फेरि तिम्रो आँसु छल्क्यो भो
नजाती
प्यारले यस्तो गरायो कल्पिराखेँ धेर राति
– सरोज काफ्ले(अधरामृत)
ख) बहरे रमल मुसद्दस सालिम - फाइलातुन्
SISS SISS SISS SISS
जून चुहेको/ रात मलाई/ राम्रो लाग्छ
हर्षको बर्सात मलाई राम्रो लाग्छ
–डा.घनश्याम परिश्रमी (जून चुहेको रात)
४.क) बहरे मुतकारिब मुसम्मन सालिम -
फऊलुन् (ISS x 4) (पिङ्गलछन्द-भुजङ्गप्रयात)
ISS ISS ISS ISS
इ सानै /उमेर्दे/खि मन हर्/न लागे
यिनै सुन्दरीले जुलुम गर्न लागे
- मोतीराम भट्ट
कटारी तिमी धस्तछ्यौ मुख लुकाई
म बस्छु हरे ! चित्तलाई फसाई
- शम्भुप्रसाद ढुङ्गेल
जमेको थियो दिल पगाल्यो कसैले
मलाई
उतै तान्न थाल्यो कसैले
- घनश्याम ‘परिश्रमी’
ख) बहरे मुतकारिब मुरब्बा सालिम - फऊलुन् (ISSx 2) पिङ्गल छन्द-शङ्खनारी)
ISS ISS
तिमी सा/मु आयौै
उज्यालो बनायौ
– डा.घनश्याम ‘परिश्रमी’
५.क) बहरे मुतदारिक मुसम्मन सालिम -
फाइलुन् (SIS x 4) (पिङ्गलछन्द-स्रग्विणँी)
SIS SIS SIS SIS
याद आ/यौ तिमी /चाँदनी/ रातमा
मुस्कुरायौ तिमी चाँदनी रातमा
– गोविन्दराज विनोदी
प्रेमको स्वाद
चाखेर आयौ तिमी
जिन्दगी दाउ राखेर
आयौ तिमी
- डा.घनश्याम “परिश्रमी”
बाँच्न जान्ने भए प्यार हो जिन्दगी
क्यै नजान्ने भए भार हो जिन्दगी
– सरोज काफ्ले
ख) बहरे मुतदारिक मुसद्दस सालिम -
फाइलुन् (SIS x 3) (पिङ्गलछन्द-महालक्ष्मी)
SIS SIS SIS
आज मा/टो दुखे/को छ है
रोग पक्कै लुकेको छ है
– डा.घनश्याम परिश्रमी
ग) बहरे मुतदारिक मुरब्बा सालिम -
फाइलुन् (SIS x 2) (पिङ्गलछन्द-विमोहा)
SIS SIS
प्यारमै/ हेलिएँ
हारमै जेलिएँ
– गोर्खे साइँलो (मुस्कान)
६.क) बहरे कामिल मुसम्मन सालिम -
मुतफाइलुन् (IISIS x 4) (पिङ्गलछन्द-प्रमदानन)
यतिसम्म
प्री/ति गरी गरी/
न यता भएँ /न उता भएँ
न त मन लिएँ न त
दी दिएँ न यता भएँ न उता भएँ
- मोतीराम भट्ट
ख) बहरे कामिल मुरब्बा सालिम -
मुतफाइलुन् (IISIS x 2) (पिङ्गलछन्द-संयुता)
IISIS IISIS
तिमीलाई प्रिये/ कति धाउनू
कसरी हो दर्शन पाउनू
– डा.घनश्याम ‘परिश्रमी’
ज्ञातव्य – आठौँ रुक्न अर्थात् मफ्ऊलातु
९क्क्क्क्ष्० को मात्र आवृत्ति (अर्कान)
बाट कुनै पनि बहर बन्दैन । यो रुक्न मुरक्कव तथा मुजाहिफ बहरहरूमा जोडिएर प्रयोग
हुन्छ ।
मुरक्कब बहर –
भिन्नभिन्न रुक्नका अर्कान मिलेर बन्ने
बहरलाई मुरक्कव बहर भनिन्छ । यसअन्तर्गत मुन्सरेह, मुक्तजिब, मुजारे, खफीफ, वसित, मुजास, सरीअ, मुसाकील, जदीद, करीब, मदीद र तबील गरी
बाह्रवटा बहरहरू पर्दछन् । मुरक्कब बहरको प्रयोग न्यून रूपमा भएको पाइन्छ ।
उर्दू अरूजमा प्रमुख मुरक्कब बहरका रूपमा
उपर्युल्लिखित १२ वटामध्ये मुक्तजिब, जदीद, तवील, करीब, मदीद मुशाकिल र
वाफिर बहरहरूको अत्यन्त कम प्रयोग हुन्छ । मुरक्कब बहरका रूपमा फारसीमा
उपर्युल्लिखित १२ वटा मात्र बहरहरू तोकिएका भए पनि उर्दू र हिन्दीमा फरक फरक मूल
रुक्नहरूबाट बनेका अन्य बहरहरू पनि छन् । तर यस्ता बहरलाई मुरक्कव बहर नमानेर
मुजाहिफ बहरअन्तर्गत राख्ने गरेको पाइन्छ । यस्ता कतिपय प्रचलनमा रहेका बहरहरू
उदाहरणार्थ प्रस्तुत छन् । जस्तै–
मुरक्कब बहर
भिन्नभिन्न रुक्नका अर्कान मिलेर बन्ने
बहरलाई मुरक्कव बहर भनिन्छ । यसअन्तर्गत मुन्सरेह, मुक्तजिब, मुजारे, खफीफ, वसित, मुजास, सरीअ, मुसाकील, जदीद, करीब, मदीद र तबील गरी
बाह्रवटा बहरहरू पर्दछन् । मुरक्कब बहरको प्रयोग न्यून रूपमा भएको पाइन्छ । यसका
पनि सूत्र र केही उदाहरण प्रस्तुत छन् – :
१) बहरे मुन्सरेह - मुस्तफइलुन् +
मफ्ऊलातु
२) बहरे मुक्तजिब - मफ्ऊलातु + मुस्तफ्इलुन्
३) बहरे मुजारे - मफाईलुन् + फाइलातुन्
४) बहरे खफीफ - फाइलातुन् मुस्तफ्इलुन् + फाइलातुन्(SISS+SSIS+ SISS)
५) बहरे बसित - मुस्तफ्इलुन् + फाइलुन् (SSIS + SIS x 2)
६) बहरे मुजतस - मुस्तफइलुन् + फाइलातुन्
७) बहरे सरीअ - मुस्तफ्इलुन् + मुस्तफ्इलुन + मफ्ऊलातु
८) बहरे मुशाकिल - फाइलातुन् + मफाईलुन् + मफाईलुन्
९) बहरे जदीद - फाइलातुन् + फाइलातुन् + मुस्तफ्इलुन्
१०) बहरे करीब - मफाईलुन् + मफाईलुन् + फाइलातुन्
११) बहरे मदीद - फाइलातुन् + फाइलुन्
१२) बहरे तबील - फऊलुन् + मफाईलुन्
उर्दू अरूजमा प्रमुख मुरक्कब बहरका रूपमा
उपर्युल्लिखित १२ वटामध्ये मुक्तजिब, जदीद, तवील, करीब, मदीद मुशाकिल र
वाफिर बहरहरूको अत्यन्त कम प्रयोग हुन्छ । मुरक्कब बहरका रूपमा फारसीमा
उपर्युल्लिखित १२ वटा मात्र बहरहरू तोकिएका भए पनि उर्दू र हिन्दीमा फरक फरक मूल
रुक्नहरूबाट बनेका अन्य बहरहरू पनि छन् । तर यस्ता बहरलाई मुरक्कव बहर नमानेर
मुजाहिफ बहरअन्तर्गत राख्ने गरेको पाइन्छ । यस्ता कतिपय प्रचलनमा रहेका बहरहरू
उदाहरणार्थ प्रस्तुत छन् । जस्तै–
१) बहरे रमल मुसम्मन महजुफ (पिङ्गलछन्द-मेनका/गीतिका) फाइलातुन x3+फाइलुन् (SISS x 3 + SIS)
SISS- SISS-SISS-SIS
यस वखतमा/ प्रीति गर्नू /जालमा फस्/नू न हो
आशमा पर्नू त चोखा धारमा बस्नू न हो
- मोतीराम भट्ट
२) बहरे रमल मुरब्बा महजुफ (पिङ्गल–छन्द
मालिका)
फाइलातुन्+फाइलुन्
-SISS+SIS)
आज मेरो / मन दुख्यो
प्रेमले जीवन
दुख्यो
–
गोपाल अश्क
३) बहरे हजज मुसद्दस महजुफ (पिङ्गल छन्द-सुमेरु)
– मफाईलुन्x 2+ फऊलुन्
ISSS- ISSS -ISS
झुलौँ सङ्गै /तिमी भन्थ्यौ /हिजो ता
नफुल्दै चोटले तिम्रो झरेँ म
– सरोज काफ्ले (अधरामृत)
सधैँ हारेर बाँचेको मलाई
उपेक्षाले कुनै माला नदेऊ
– घनेन्द्र ओझा(बल्झेर याद तिम्रो)
४) बहरे हजज मुसद्दस महजुफ – मफाईलुन् x 3 + फऊलुन् (पिङ्गल छन्द–दिगम्बरी)
ISSS–ISSS–ISSS–ISS
झरेको पा/त हुँ मेरो/कहानी के/सुनाऊँ
बितेको रात हुँ मेरो कहानी के सुनाऊँ
–
गोपाल अश्क
मुजाहिफ बहर –
मूल रुक्नहरू तोडेर बनेका बहरहरूलाई
मुजाहिफ बहर भनिन्छ । प्रमुख मुजाहिफ बहर २२ प्रकारका मानिन्छन् तापनि यसरी अन्य
दर्जनौं बहरहरू पनि बनेका पाइन्छन् । तिनको निर्माणमा माथिका बहरहरूको मिश्रित
प्रभाव पर्दछ । यस्ता बहरहरू खासगरी मात्रा र लय भङ्ग नहुने गरी बन्दछन् । यस्ता
बहरमा प्रयोग हुने परिवर्तित अर्थात् टुक्रिएका रुक्नहरूलाई जिहाफ भन्दछन् ।
जिहाफका केही उदाहरण तल प्रस्तुत छन् –
मफऊलु
(IISI) मफाईलु (ISSI), मुफाइलुन् (ISIS),
फैलुन (SS),
फयलातुन्
(IISS) फा/फे (S), फइलुन् (IIS),
फऊलु (ISI),
मुस्तफइलुन (SIIIS),
मुफ्तइलुन् (SIIS), मफ्ऊलु (SSI), मफा (IS) मुतफाइलतुन (IISIIS)
केही संस्कृतका पिङ्गल छन्दसँग मिल्ने
मुजाहिफ बहरका नाम र संरचनाका सूत्रहरू तल प्रस्तुत छन् :
१) बहरे हजज मुसम्मन मकबुज– मुफाइलुन् x 4 (ISIS x 4) (पिङ्गल छन्द - पञ्चचामर)
मलाई नित्य
चित्तमा लिएर चल्दछिन् उनी
जसै म पुग्छु
द्वारमा धपक्क बल्दछिन् उनी
- गोविन्दराज विनोदी
जसै म भेट्न आउँछु
तिमी लुकेर बस्तछ्यौ
अरू कुनै पनि बखत
तिमी फुकेर बस्तछ्यौ
- घनश्याम “परिश्रमी”
२) बहरे हजज मुरब्बा मकबुज – मफाइलुन् x २ (ISISx2) (पिंगलछन्द–प्रमाणिका)
गयो सिकार गर्न जो
उतै उही सिकार भो
– डा. घनश्याम परिश्रमी
३) बहरे मुतकारिब मुसम्मन महजुफ (पिङ्गल
छन्द-भुजङ्गी)
फऊलुन् x 3 + मफा
चिठी पत्रद्वारा
खबर मात्र भो
तिमीलाई भेट्ने
रहर मात्र भो
- घनश्याम ‘परिश्रमी’
४) बहरे मुतदारिक मुरब्बा मक्तुअ (पिङ्गल
छन्द-विद्युन्माला)
मुस्तफ् फैलुन + मुस्तफ् फैलुन् (SSSS + SSSS)
अल्पायुमै छोड्यौ बाबा
व्यर्थै पीडा जोड्यौ बाबा
– गोर्खे साइँलो (मुस्कान)
५) बहरे हजज अखरब अबतर मुसद्दस (पिङ्गल
छन्द - तोटक)
मफऊलु +मफा +मफऊलु + मफा ९(IISI + IS x 2) वा मुतफाइलतुन
सब रात बिते यसरी
कि सधैं
विरही मनमा छ झरी
कि सधैं
- घनश्याम ‘परिश्रमी’
तिमीसाथ हुनेछ हुसैन सधैँ
सुन अब्बल, दोयम, टारहरू
– हुसैन खाँ
६) बहरे मुजारे मुसम्मन अखरब (पिंगल छन्द
: दिक्पाल)
मफ्ऊलु +फाइलातुन् x 2 (SSI + SISS x 2) वा मुस्तफ्इलुन + फऊलुन
रोएर दिन बिताएँ
तारा गनेर राती
निठुरी रहेछ
तिम्रो पत्थर समान छाती
- उपेन्द्रबहादुर जिगर
हीरा जुहारभन्दा
माटो मलाई प्यारो
रङ्गीन दुनियाँमा
रातो मलाई प्यारो
- बूँद राना
हिँड्दा हजार काँडा टेक्दै दुखेर रोयौँ
देख्ला भनी कसैले साँच्ची लुकेर
रोयौँ
– घनेन्द्र ओझा
७) बहरे मुतदारिक मुजाहिफ, (पिङ्गल-छन्द
द्रुता)
फाइलुन्म+फा+फाइलुन्म+फा (SIS+IS+SIS+IS)
प्रेम हो खुसी प्रेम त्रासदी
प्रेम रोग हो प्रेम औषधी
- डा. घनश्याम “परिश्रमी”
८) बहरे हजज मुसद्दस महजुफ (पिङ्गल छन्द
पीयूषवर्ष)
मफाइलुन्, मफाइलुन्, फाइलुन्
कसम खाएर भन्दै छु
आज म
म तिम्रो नै त
बन्दै छु आज म
- डा. घनश्याम
न्यौपाने ‘परिश्रमी’
यसरी नै मुजाहिफ बहरहरूको सङ्ख्यामा
वृद्धि भएको देखिन्छ । आजका अधिकांश गजलकारहरूले यी शास्त्रीय सूत्रहरूको परिपालना
गरी गजल संरचना गर्न छोडेका छन् । बरू बहरबद्धताविना गजल बन्नै नसक्ने भएकाले
मुसिकियत (लयात्मक) गुणको महत्त्वलाई आत्मसात् गर्दै स्वतन्त्र बहर निर्माण गरी
गजल रचना गर्ने कार्यले यस कालमा व्यापकता पाएको छ । यस्ता स्वतन्त्र बहरहरूमा
गायनहेतु उच्चार्य अक्षर वा मात्रात्मक एकरूपता तथा गति र यतिको सन्तुलन हुनु
आवश्यक हुन्छ । आजका अधिकांश नेपाली
गजलकारहरूले बहर, मात्रा र अक्षरको
समेत सन्तुलन विना नै गजल रच्ने गरेको पाइन्छ । यस्तो हुनु गजलका लागि
दुःखद पक्ष हो । अतः संस्कृतका पिङ्गल छन्द र फारसी उर्दूका गजलका बहरहरूको
तुलनात्मक अध्ययन आवश्यक, औचित्यपूर्ण र महत्त्वपूर्ण देखिन्छ । यस अध्ययनले एकातिर
छन्दको पुनर्जागरण तथा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दछ भने अर्कातिर निकट
सम्बन्ध भएका संस्कृत र फारसी भाषाका छन्दमा पाइने साम्य र वैषम्यको बोधमा सहयोग
पुग्दछ ।
सन्दर्भ ग्रन्थसूची
- अस्थाना, डा.राहिताश्व(सम्.),१९९६ई., इन्द्रधनुषी हिन्दी गजलें, हरदोई उ.प्र. :सहयोगी साहित्यकार प्रकाशन ।
- ओझा, घनेन्द्र, २०६२, बल्झेर याद तिम्रो, काठमाडौँ : हजुरको प्रकाशन ।
- काफ्ले, सरोज, २०६२, अधरामृत, पाल्पा :मदनपोखरा साहित्य सङ्गम ।
- ख्वाब, अकबराबादी, १९९३ई, गजल के छन्द तथा नियम, आगरा : लेखक स्वयम् ।
- ......................(प्र.सं.), १९९७ईं, मृदुलय (गजल विशेषांक) मई जून ।
- जगन्नाथ, १९९७ई, गजल के शिल्प विधान, पटना :पुष्कर प्रकाशन ।
- ढुङ्गाना, गोविन्दप्रसाद शर्मा, २०५०(पाँचौँ सं.),छन्दोहार, काठमाडौँ : ऐश्वर्य छापाखाना ।
- नरेश, १९९१ईं, गजल शिल्प और संरचना, चण्डीगढ : हरियाणा साहित्य अकादमी ।
- परिश्रमी, डा. घनश्याम न्यौपाने, २०६१, गजल : शिल्प, शैली र रचना विधान, अनुराग ४, ४–३१ ।
- परिश्रमी, डा. घनश्याम न्यौपाने,२०६३, गजल परिचय र रचना विधि, मिर्मिरे २५५, १५–२८ ।
- परिश्रमी, डा. घनश्याम न्यौपाने, २०६३, गजल भूमिकावली, चावेल, काठमाडौँ : भाभा पुस्तक भण्डार ।
- श्रीभट्टकेदार, २०५२(नवौँ सं)वृत्तरत्नाकरः, वाराणसी : चौखम्बा संस्कृत संस्थान ।
- साइँलो, गोर्खे, २०६२, मुस्कान, चितवन : पल्लव साहित्य विविध.
No comments:
Post a Comment