आश गुरुङ, आसु श्रेष्ठ, इद्रिस सायल, इन्द्रकुमार श्रेष्ठ र इन्द्रकुमार विकल्पका गजल - gazalutsav

नयाँ सामग्री

Friday, February 5, 2021

आश गुरुङ, आसु श्रेष्ठ, इद्रिस सायल, इन्द्रकुमार श्रेष्ठ र इन्द्रकुमार विकल्पका गजल

               गजल

                                           – आश गुरुङ ‘प्रतीक’



जन्मेर चोखो माटोमा तिम्रै लागि मरेर आएँ

सकी नसकी बर्खे भेलमा मिदिम खोला तरेर आएँ


काँडा थियो बाटोभरि अनि काला फूल गुच्छा

सिमलरुपी बोटबाट विस्तारै विस्तारै झरेर आएँ 


आई थुन्यौ डर लाग्छ पर्खाल अनि पहाडहरु

वसन्तको पवन भै भित्रभित्र छरेर आएँ


नजाऊ भन्थ्यो भाग्यले नि रित्तो गाग्री भेट्थेें बरै

आगोमाथि घिउ आफैँ आज परेर आएँ


मानिंदैन अन्धविश्वास रुढीवादी समाजमा

ढुङ्गा रै’छ दायाँबायाँ पूजा मैले गरेर आएँ 

                                          भुजुङ,—५, लमजुङ

              गजल

                                           – आसु श्रेष्ठ

मेरो देशको हिमाल, पहाड, तराई आज फुटेको छ

नेपाली हुँ नेपाल भन्ने मन आज टुटेको छ


पुर्खाहरु दिनरात देश बनाउने काममा खटे

उनकै सन्तान घर भत्काउने धुनमा आज जुटेको छ


ठूलो—सानो जातिपाति, लिङ्ग, वर्गभेद हुँदा

मानवोचित समानताको साथ आज छुटेको छ


नयाँ नौलो नेपालको जग राख्न नपाउँदै 

विदेशीले नेपालीको दिमाग आज भुटेको छ


आपसमै लड्ने भिड्ने विनाशको खेल खेली 

हाम्रो मिल्ने चाहनालाई कसले आज लुटेको छ


कर्णाली र कोशीबीच गण्डकीलाई छुटाएर

पहाडे र मधिसे भै किन आज जुधेको छ 


हाम्रा सबै मनमुटाव सगोलमै मिलाउन 

समयले वार्तालापको शङ्ख आज फुकेको छ

                                               दुलेगौंडा, तनहुँ 


             गजल 

                                        – इद्रिस सायल

ठाडो–ठाडो शिरलाई सलाम गरूँ 

नझुक्ने ती वीरलाई सलाम गरूँ


भोक–प्यास मेटिंदो हो त यी जनकोे

पाकेको त्यो खिरलाई सलाम गरूँ 


पहाड यो दुखेपछि तराई दुखे

साझा त्यो यो पीरलाई सलाम गरूँ 


आँखाको वाण हान्दा माया बर्सँदा त

आत्मीय त्यै तीरलाई सलाम गरूँ 


लोकका सहिद श्रद्धाका दुई आँसु 

समर्पण नीरलाई सलाम गरूँ


वीरताको पाठ सिक्न पाओस् ‘सायल’

सगरमाथा भिरलाई सलाम गरूँ

                                        बाँके


       गजल 

                                 – इन्द्रकुमार श्रेष्ठ

सद्दे छु बौलाहा नभन्नुहोला

मलाई फटाहा नभन्नुहोला


कसैलाई सम्झी टोलाएको हुँ

नबोल्ने सन्काहा नभन्नुहोला


मायाले गर्दा तस्वीर नदेको 

यो कस्तो ठगाहा नभन्नुहोला


‘कोपिला’ देखी पग्लिएको हुँ

त्यत्तिकै पग्लाहा नभन्नुहोला


लुकेर हुर्की बढेको माया

कसलाई के थाहा  नभन्नुहोला

                           दियाले , कमलाकुञ्ज, ओखलढुङ्गा


           गजल 

                                       – इन्द्रकुमार विकल्प

जति पोले पनि मलाई लाग्छ घाम प्यारो

घाम मात्र किन हुन्थ्यो मलाई लाग्छ काम प्यारो


जिन्दगीको चलखेलमा पुग्नु पर्‍यो टाढा-टाढा

जति टाढा पुगे पनि मलाई लाग्छ गाम प्यारो


सधैं-सधैं सम्झी बस्छु गाउँघरका साथी संगी

साथी संगी मायालुको मलाई लाग्छ नाम प्यारो


तर किन तिमीलाई सधैं लाग्यो दाम प्यारो

जति दाम प्यारो मान मलाई लाग्छ राम प्यारो ।

                                                  पर्वत

No comments:

Post a Comment